पाइपलाइनबाट पेट्रोल आयात तयारी, अब लिटरमै साढे २ रुपैयाँसम्म कमि आउने
काठमाडौं,२१ पुस । नेपालमा पहिलो पटक पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात तयारी भएको छ ।
भारतको मोतिहारीबाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माण पूरा भई अहिले विभिन्न चरणमा परीक्षणको काम भइरहेकोे छ ।
‘पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माणको काम सकिएको छ । नेपाल आयल निगम श्रोतका अनुसार अब यो प्रणालीबाट पेट्रोलियम पदार्थ आयात गरी आन्तरिक बजारमा ढुवानीका लागि आवश्यक परीक्षणको अन्तिम चरणमा रहेछ ।
परीक्षणको काम पूरा भएपछि औपचारिक रूपमा आयात सुरु गरिने र त्यसले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँदेखि साढे २ रुपैयाँ बराबर ढुवानी खर्च कम गर्न सकिने श्रोतले जानकारी दियो ।
नेपालमा आयात हुने कुल पेट्रोलियम पदार्थमध्ये यस नाकामार्फत ६० देखि ७० प्रतिशत पेट्रोल र डिजेल आयात हुने गरेको तथ्यांक निगमको छ । २५ भदौ २०७६ देखि पाइपलाइनबाटै डिजेल आयात भइरहेको छ । यो परियोजनाको दोस्रो चरण अन्तर्गत पेट्रोल र मट्टीतेल आयातका लागि संरचना बनाइएको हो । परीक्षण सिलसिलामा पाइपलाइनबाट आएको पेट्रोल ट्यांकरमा लोड गर्ने, सेक्युरिटी लकिङ सिस्टम राख्ने सहित परीक्षण भइरहेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (मंसिर मसान्तसम्म) मा नेपालले कुल ४ लाख ७२ हजार ८ सय ७ किलोलिटर डिजेल र ३ लाख ६ हजार २ सय २९ किलोलिटर पेट्रोल आयात गरेको छ । यो देशभरिका नाकाबाट नेपाल भित्रिएको पेट्रोलियम पदार्थको कुल परिमाण हो । अमलेखगञ्जभन्दा बाहेकका नाकाबाट भने सबै प्रकारको पेट्रोलियम पदार्थ ट्यांकरमै आयात हुने गरेको छ ।
पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा मुलुकलाई एकसाथ धेरै पक्षमा लाभ हुने निगमका कार्यकारी निर्देशक भट्ट बताउँछन् ।
‘एक त ढुवानी खर्च कतौती हुँदा उपभोक्ता मूल्य नै साढे २ रुपैयाँसम्म सस्तो पर्छ,’ उनी भन्छन्, ‘चुहावट रोकिने, अनियमितताको सम्भावना नहुने र वातावरणीय प्रभाव कम हुने विषयले मुलुकलाई धेरै फाइदा हुन्छ ।’
अर्कातर्फ, मुलुकलाई अकस्मात धेरै पेट्रोलियम पदार्थ आयात पर्दा समेत पाइपलाइनबाट ल्याउन सहज हुनेछ । अहिले जडित पाइपलाइनबाट प्रतिघण्टा २ लाखदेखि ३ लाख लिटरसम्म पेट्रोल आयात गर्न सकिन्छ । भारतमा एक ट्यांकर पठाएर काठमाडौंसम्म तेल आयात गर्न भने कम्तीमा तीन दिन लाग्ने गरेको निगमको भनाइ छ ।
पाइपलाइन विस्तार परियोजना अन्तर्गत इन्डियन आयल कर्पोरेसन (आईओसी) को सहयोगमा अमलेखगञ्जस्थित डिपोमा ४ हजार १ सय किलोलिटर क्षमताका दुई पेट्रोल ट्यांक, २ सय ५ किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्यांक, पेट्रोल ढुवानी गर्न पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस तथा प्रयोगशाला बनाइएको छ ।
यो पाइपलाइनको लम्बाइ ६९.२ किलोमिटर छ । अमलेखगञ्जमा डिजेल भण्डार क्षमता भने १८ हजार किलोलिटर छ । पाइपलाइनबाट आएको पेट्रोलियम पदार्थ भण्डार स्थलमा राख्ने र आवश्यक प्रक्रिया पूरा गरी ट्यांकर मार्फत अन्यत्र पठाउने गरिन्छ ।
पेट्रोल भण्डारणका लागि बनाएको यस संरचनामा करिब १ अर्ब २८ करोड भारुभन्दा बढी लागत लागेको अनुमान गरिएकोछ ।
प्रतिक्रिया दिनुहोस्