गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं,२१ पुस । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।
इन्स्योरेन्सले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति थियो । इन्स्योरेन्सले यसअघि नै १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर म्यूचुअल फण्डहरुलाई छुट्याएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा माघ ५ गतेसम्म आवेदन दिने समय थप गरिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको उक्त शेयर खरिद गर्न इच्छुकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। ।

प्रतिक्रिया दिनुहोस्