पृथ्वी जयन्तीका अवसरमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्याली गर्दै राप्रपा
काठमाडौं, १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३ औं पृथ्वी जयन्तीका अवसरमा महेन्द्र शालिकदेखि पृथ्वी शालिकसम्म एकता र्याली गर्ने भएको छ।
काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबारअगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्याली गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायत नेताहरू पनि र्यालीमा सहभागी हुनेछन्।
सोही दिन राप्रपाले चियापान कार्यक्रम गर्ने भएको छ।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडी लगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
आम निर्वाचनपछि राप्रपासमेत सहभागी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो।
राप्रपाले २०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको प्रवक्ता श्रेष्ठले बताए।
यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषदले पुस २५ गते काठमाण्डौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना गरेको छ।
प्रतिक्रिया दिनुहोस्