रसुवागढी जलविद्युत् आयोजनाद्वारा व्यापारिक उत्पादन शुरु

काठमाडौं,१८ पुस । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । चिलिमे जलविद्युत् कम्पनीकोे सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले यही पुस १६ गते मंगलबारदेखि व्यापारिक उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ । उक्त विद्युत् गृहमा जडित ३३–३३ मेगावाट क्षमताको ३ वटा मेसिनबाट विद्युत् उत्पादन हुने आयोजना कार्यालयले जनाइएको छ ।

यस आयोजनाको कुल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरुपमा निर्माण सुरु भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा समय समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरुद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको र आयोजनाको निर्माण लागत बढ्न गएको आयोजनाले जनाएको छ ।

रसुवागढी जलविद्युत्ले वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर ३ अर्ब २५ करोड आय गर्ने आयोजनाले जनाएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी जलविद्युत् कम्पनीमार्फत यो आयोजना निर्माण भएको हो । यो आयोजना कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको सेयर लगानीमा निर्माण सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्