जाडोमा ३० जनालाई इलेक्ट्रिक जग उपहार
काठमाडौं १७ पुस । नेकपा एमालेनिकट स्थानीय तह कर्मचारी संघ, नेपालले सञ्चालन गरेको उपहार कुपनमा ३० जनाले इलेक्ट्रिक जग उपहार पाएका छन् ।
संस्थाले हालै सार्वजनिक गरेको उपहार कुपन नतिजा घोषणा कार्यक्रममा पुरस्कारलाई ७ वर्गमा विभाजन गरिएको महासचिव शम्भु बरालले बताए । उनका अनुसार पारदर्शी ढंगले ‘कम्प्युटराइज्ड’ पद्धतिबाट उपहार नतिजा सार्वजनिक गरिएको हो । दशैं, तिहार, छठ पर्वका साथै नेपाल सम्वतको समेत अवसरमा संस्थाले उपहार कुपन काटेको थियो । १५ हजार थान कुपन वितरण भएको उपहार कुपन कार्यक्रमकी संयोजक तथा संस्थाकी उपाध्यक्ष जानुका श्रेष्ठले बताइन् ।
प्रथम बिजेताले इलेक्ट्रिक स्कुटर, द्धितीय हुने २ जनाले ल्यापटप, तेस्रो हुने तीन जनाले स्मार्ट फोन, चौथो हुने चार जनाले जुस मिक्स्चर, पाँचौं हुने पाँच जनाले भ्याकुम क्लिनर, छैंटो हुने ६ जनाले इलेक्ट्रिक आइरन उपहार पाएका छन् ।
औपचारिक रुपमा नै उपहार घोषणा गरिएको कार्यक्रमका प्रमुख अतिथि पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालका साथै विशिष्ट अतिथि र अन्य अतिथिले ‘कम्प्युटराइज्ड’ पद्धतिबाट भाग्यशाली बिजेताको नम्बर सार्वजनिक गरेका थिए । ब्यानर पढेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले स्थानीय तहका कर्मचारीमाथि सरकारले भेदभाव गरेकामा गुनासो गरेका थिए । उनले सरकारले बनाउने कानुनमा स्थानीय तहका कर्मचारीको भावना समेट्न सरकारलाई आग्रह गरे ।
‘राजनैतिक अधिकारसहितको ट्रेड युनियन अधिकार, संघीयतामा अधिकारसम्पन्न संवैधानिक स्थानीय सरकार’ भन्ने मूलनाराका साथ संस्थाको स्थापना भएको हो । संस्थाले आफूसँग सरोकार रहेको विविध विषयमा पटक पटक अन्तरक्रिया तथा छलफलसमेत गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्