राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पु-याएको योगदानको स्मरण

काठमाडौं, १४ पुस । राजा वीरेन्द्रले मुलुकको विकास र समृद्धिमा पु-याएको योगदानको चर्चा गरिएको छ ।
राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले वीरेन्द्रको ८०औं जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले वीरेन्द्रले देशको राष्ट्रिय स्वाधिनता तथा जनताको समृद्धिका लागि कार्य गरेको भन्दै उहाँको योगदानको स्मरण गरेका हुन ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले मुलुकमा जनताको चहनाअनुुसार विसं २०४६ मा प्रजातन्त्रको पुनर्बहाली गरी बहुदलीय व्यवस्थाको घोषणा गरेका वीरेन्द्रले आर्थिक, राजनीतिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण कार्य गरेको स्मरण गर्नुभयो ।

नेपाल जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले असल कूटनीतिका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वूर्ण भूमिका निर्वाह गरेका वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएकाले जनताको मानसपटलमा अविस्मरणिय रहेको विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ समाजसेवी पशुपतिभक्त महर्जनले सरल स्वभावका वीरेन्द्र जनप्रेमी तथा देशभक्त राजाका रुपमा चित्रण गर्नुभयो ।
जन्म विस.२००२ साल पुस १४ मा जन्मिएका वीरेन्द्र विस २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा मृत्यु भएको थियो ।
प्रतिष्ठानलगायत विभिन्न संघ संस्थाले जावलाखेलस्थित शालिकमा वीरेन्द्रको शालिकमा माल्यार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्