दक्षिण कोरियाको विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त, कम्तीमा २८ जनाको मृत्यु
काठमााडौं, १४ पुस । दक्षिण कोरियाको विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएको छ । जसमा कम्तीमा २८ जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले उल्लेख गरेको छ।
देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको जनाइएको छ ।
१७५ यात्रु र छ जना चालक दलका सदस्य रहेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किरहेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।
अन्यको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । आइतबार बिहान दुर्घटना भएको विमानमा रहेका यात्रुहरूमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाई नागरिक थिए।
दुर्घटनाको कारण स्पष्ट नभएपनि चरा ठोक्किएर वा अवतरण गियर बिग्रिएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको देखिन्छ, त्यसपछि त्यसको केही भाग एकाएक विस्फोट हुन्छ। अन्य फुटेजमा आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडिरहेको समेत देखिन्छ।
प्रतिक्रिया दिनुहोस्