जिल्ला अदालत कास्कीमा रवि लामिछानेको बयान सकियो

काठमाडौं, १२ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो ।

उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् ।

बयानका क्रममा लामिछानेले न्यायाधीशले सोधेका सजिला प्रश्नको जवाफ दिएका थिए भने अप्ठ्यारा प्रश्नमा जीबी राईलाई जिम्मेवार बनाएका थिए । सहकारीको खाताबाट कुनै रकम नआएको र रकम नमासेको उनको दाबी छ । प्रहरीमा दिएको बयान नै सही सत्य भएको उनले बताए ।

प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा न्यायाधीशले प्रश्न गरेका थिए ।

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि बिहीबारदेखि लामिछानेको बयान सुरु भएको थियो । लामिछानेको बयान सकिएपछि इजलासले तोकेअनुसार अर्का प्रतिवादीको बयान सुरु हुने छ ।

उक्त सहकारी ठगी मुद्दामा लामिछाने, जोशी, पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई बयानका लागि गत सोमबार अदालतमा उपस्थित गराइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्