अध्यक्ष नेपालद्वारा शुभकामना
काठमाडौँ, १० पुस नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले क्रिसमस पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई प्रबलीकरण गर्न सहयोग पुर्याउने बताउनुभएको छ।
ईसाई धर्मावलम्बीको महत्वपूर्ण पर्व क्रिसमस डेको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गर्नुभयो।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुकमा रहेका फरक धर्म, संस्कृति, परम्पराले अनेकतामा एकता,एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभयो।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले समग्र राष्ट्रको विशिष्ट पहिचान बनाउने बताउँदै मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाड पर्व सस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सबै समुदायका सांस्कृतिक अधिकारसहित भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्न संविधानप्रदत्त नागरिक हक अधिकारलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्