रसुवागढी आयोजनाद्वारा विद्युत् उत्पादन शुरु
काठमाडौं,८ पुस । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा विद्युत् गृह निर्माण गरि ३३.३३ मेगावाट क्षमताको ३ वटा मेसिन मार्फत विद्युत् उत्पादन हुने जनाएको छ ।
हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराई सकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उनले बताए ।
सो आयोजनाको कुल लागत १८ अर्ब ६९ करोड २० लाखको रहेको छ । सन् २०१४ देखि पूर्णरुपमा निर्माण सुरु भए पनि विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको आयोजनाले बताएको छ ।
रसुवागढी जलविद्युत्ले वार्षिकरुपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर ३ अर्ब २५ करोड आय गर्ने आयोजनाले जनाएको छ । विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।
चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्