साउदी अरेबियाबाट फर्किएका एक नेपालीलाई देखियो ‘मंकीपक्स’

काठमाडौं,५ पुस । नेपालमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका एक जना यात्रुमा ‘मंकीपक्स’ पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।

अस्पतालका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य रहेको छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिसँग ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ ।

चिकित्सकहरूका अनुसार मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि बिफरको तुलनामा मंकिपक्स कम घातक हुन्छ ।

सरुवा रोग विशेषज्ञहरूका अनुसार ‘मंकीपक्स भाइरस’ मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्छ । संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्