नेपाल भारत मैत्री संगठनको काठमाडौँ कार्यसमिति गठन
काठमााडौं, ३ मंसिर । नेपाल भारत मैत्री संगठनले निर्मला श्रेष्ठको नेतृत्वमा काठमाडौँ कार्यसमिति गठन गरेको छ।
दुबै मुलुकको नागरिक स्तरमा सम्बन्धलाई सुमधुर बनाउनका उक्त कार्यसमिति गठन गरिएको हो। समाजमा विभिन्न क्षेत्रमा कृयाशिल रहेको प्रभुत्व व्यक्तिको सहभागितामा भएको भेलाले कार्यसमिति चयन गरेको हो।
सो कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष अनुप सिंहले दुई देशबीचको सदियौं पुरानो सम्बन्धलाई थप सुमधुर बनाउनका लागि दुई मुलुकको नागरिककाबीचमा भाषा, साहित्य तथा संस्कृतिको आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख राजाराम श्रेष्ठले दुई देशको निकटताका कारण कायम गरिएको खुल्ला सिमानाले जनस्तरबीचको भाषिक, वैवाहिक, धार्मिक र सांस्कृतिक सम्बन्धलाई बनाएको विचार व्यक्त गर्दै यसबाहेक दुई देश बीचको सुरक्षा संवेदनशीलता, सीमा विवादलाई समाधान गरी दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो।
संगठनका महासचिव सम थापाले धार्मिक, व्यावसायिक, सांस्कृतिक र कूटनीतिक क्षेत्रमा कृयाशिल रहेको संगठनले दुबै मुलुकका तीर्थयात्रीहरूको सुविधाका लागि दुई देशका महत्वपूर्ण तीर्थस्थलमा धर्मशाला निर्माण गर्न लागेको जानकारी दिनुभयो।
पूर्व राज्यमन्त्री कुन्ती शाहीले दुबै मुलुकको एैतिहासिक सम्बन्धलाई जनस्तरमा फैलाउन कार्यसमितिलाई शुभकामना दिँदै दुबै मुलुकका तीर्थयात्रीहरूले गर्ने धार्मिक भ्रमणले साँस्कृतिक आदानप्रदानमा सहयोग पुग्ने बताउनुभयो।
संगठनले राजनीतिक मुद्दा र सीमा विवादले जनताबीचमा बढ्दो नकारात्मक भावनालाई न्यूनीकरण गर्न प्रदेशस्तरीय सभा सम्मेलन गर्न लागेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्