नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता

काठमााडौं, २ पुस । नेपालबाट राँगा, भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ ।

सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लिबीच उक्त सम्झौता भएको हो । सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताए । उनले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने समेत बताए । उनले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताए । नयाँ(नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

उनले भने, ‘यो सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं । नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा,भैंसी पालनका लागि थप प्रोत्साहित गरेको छ । नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको छ । हामीले यो हावापानीमा उत्पादन गर्ने नेपाली मौलिक उत्पानको मात्रा धेरै नभएपनि यसको महत्व भने ठूलो छ । नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ । नेपालमा भैँसी पालनको सुनिश्चित गर्न आवश्यक छ । हामीले युवालाई पनि यस पेशामा जोडेर पुस्तान्तरण गर्न जरुरी छ । पशु पालनका सन्दर्भमा नयाँनयाँ प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ ।’

चीनमा मासु निर्यातको सम्भावना राम्रो रहेकाले स्वदेशमा रोजगारीको अवसर बढ्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्