एनपीएलः सुदुरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं, १ पुस। नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेल आज पश्चिमका दुई टोली सुदुरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ । लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफाय र एलिमिनेटरको समिकरण तय हुने खेल भएकोले अन्तिम खेल भएपनि यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।

यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यस्तै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।

अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेको छ । तर शीर्ष दुईमा कुन टिम हुनेछ तय भएको छैन । चितवनले पनि तेस्रो वा चौथोमा रहेर एलिमिनेटर नै खेल्ने लगभग तय छ ।

बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ ।

सुदूरपशिच्मि ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि छ ।

यस्तै चितवन र कर्णालीसँगै काठमान्डु गुर्खाजको पनि समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।

अब कर्णाली याक्स र काठमान्डु गुर्खाजमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँछ । अहिलेको अवस्थामा कर्णाली प्लेअफका लागि दाबेदार छ र होडमा अघि छ । किनभने काठमान्डु भन्दा कर्णालीको नेटरनरेट राम्रो छ ।

कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ । जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ । यस्तै लक्ष्य पछ्याएमा हवस्था हेरेर १५र१६ ओभरमा पूरा गर्नुपर्नेछ ।

सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ । यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछन ।
सुदूरपश्चिम र कर्णाली याक्स दुवै पछिल्ला खेलहरु जित्दै लयमा छन् । सुरुवाती तीन खेल जितेको सुदूरपश्चिम त्यसपछि चितवन राइनोजसँग पराजित भएको थियो । तर त्यसपछिका दुई खेल जित्दै लयमा छ । सुदूरपश्चिमले चितवनसँग हारेपछि जनकपुर बोल्ट्सको ४ खेलको अपराजित यात्रालाई ब्रेक लगाएको थियो भने आइतबार पोखरा एभेन्जर्समाथि अन्तिम ओभरमा ५ रनको रोमाञ्चक जित हात पारेको थियो ।

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमको टोलीमा नेपाली र विदेशी खेलाडीको राम्रो मिश्रण छ र टिम सन्तुलित देखिएको छ । कुनै पनि खेलाडीले म्याच जिताउन सक्ने क्षमता छ भने भने विदेशी खेलाडीहरुको प्रदर्शन पनि राम्रो देखिएको छ ।

स्पीन अलराउण्डर सैफ अली जैब विनोद भण्डारीसँग ओपनिङ गर्छन् । अर्का विदेशी मिडियम पेस अलराउण्डर ब्राण्डन म्याकमुलेन टप अर्डरमा छन् । पछिल्लो दुई खेलमा आएका हर्मित सिंह अर्का स्पिन बलिङ अलराउण्डर हुन्छ । आवश्यक परेको बेला उनी जता पनि ब्याटिङ बलिङ गर्न सक्छन् । यस्तै न्युजिल्याण्डका अनुभवी फास्ट बलर स्कट कुगेलेइन नयाँ बलमा छन् ।

उनले अहिलेसम्म सर्वाधिक १४ विकेट लिइसकेका छन् । यस्तै सैफ अली जैबले ८ तथा नरेन सायद र ब्राण्डन म्याकमुलेनले समान ६ विकेट लिएका छन् । अविनाश बोहराले पनि ६ विकेट लिएका छन् । हर्मीतले पछिल्ला दुई खेलमै ५ विकेट लिइसकेका छन् ।

नेपाली खेलाडीमा कप्तान दीपेन्द्र सिंह ऐरी बाहेक अलराउण्डर इशान पाण्डे युवा स्पीनर नरेन साउद पनि लयमा छन् । ब्याटिङ धेरै नगरेपनि पहिलो रोजाईँमा खेलिरहेका नरेश बुढाएर फिल्डिङमा योगदान दिइरहेका छन् । उनी धेरै क्याच गर्ने खेलाडीमा छन् । सुदूरका लागि ब्याटिङमा जैबले सर्वाधिक १६३ रन बनाएका छन् भने दीपेन्द्रले १६० र म्याकमुलनेले १५९ रन बनाएका छन् ।

यता कर्णाली याक्सले लगातार चार खेल जितेर लयमा छ । सुरुको दुई खेल हारेको कर्णालीले त्यसपछि लगातार ४ खेल जितेको हो । अब कर्णालीले सुदूरलाई हराए एनपीएलमा लगातार ५ खेल जित्ने पहिलो टोली बन्नेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीका लागि विदेशी खेलाडी विलियम बोसिस्टोले पछिल्लो खेलहरुमा अलराउण्डर प्रदर्शन गरिरहेका छन् । उनी पछिल्लो तीन खेलमा प्लेअर अफ दि म्याच बनेका थिए । अलराउण्डर जिसान मक्सुदले बलिङ राम्रो गरेपनि ब्याटबाट राम्रो गर्न सकेका छैनन् । अपेक्षा गरिएका ब्याटर बाबर हायतको ब्याट चलेको छैन ।

नेपाली खेलाडीमा ट्यालेन्ट हन्टबाट आएका युवा स्पीनर विपिन शर्माले गज्जबको प्रदर्शन गरिरहेका छन् । यस्तै मिडियम पेसर नन्दन यादवले डेथ ओभरमा राम्रो बलिङ गरिरहेका छन् ।

ओपनर देव खनाल र अलराउण्डर गुल्सन झा को प्रदर्शन कन्सिस्टेन्सी हुन सकेको छैन । कर्णालीका लागि बोसिस्टोले एकै खेलमा ६ विकेट लिने बाहेक एकै खेलमा कसैले पनि ठूलो प्रदर्शन गर्न सकेको छैन । चार खेल पर्किसकेका शिखर धवनसहित बोसिस्टो र देव खनानले समान १ अर्धशतक बनाएका छन् । तर सर्वाधिक रन बनाउनेमा कर्णालीका खेलाडी पछि छन् । कर्णालीका लागि धवनले सर्वाधिक १३६ रन बनाएका थिए ।त्यसपछि चाडविक वालटनले ११५ र बोसिस्टोले ११२ रन बनाएका छन् ।

कर्णालीका लागि बलिङमा बोसिस्टो र विपिन शर्माले समान ८ विकेट लिएका छन् । नन्दन यादव र मक्सुदले समान ६ तथा कप्तान सोमपालले ५ विकेट लिएका छन् ।

देव, बाबर र गुल्सनको ब्याट चलेमा विपक्षीका लागि चुनौती बन्न सक्छ । कर्णालीका लागि बोसिस्टो, गुल्सन, नन्दन र विपिनको प्रदर्शन निर्णायक बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्