दिल्ली विधानसभाको निर्वाचन्मा सबै ७० सिटमा पार्टीको उम्मेदवारी, केजरीवालले पनि पाए टिकट

काठमाडौं,३० मंसिर । आम आदमी पार्टीले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ । प्रकाशित सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम छ ।

आपले केजरीवाललाई नयाँदिल्लीबाट टिकट दिएको छ । यसैगरी हालकी मुख्यमन्त्री आतिशीलाई कालकाजीबाट उम्मेदवार बनाइएको छ ।

मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो ।

तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

केजरीवाल र आतिशी लगायतका प्रमुख नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो ।

केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको लेखेका छन् ।

आफूहरुसँग भने दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी केजरीवालको छ ।

सो क्रममा केजरीवालले भनेका छन्, ‘भाजपासँग केबल केजरीवाललाई हटाउने मिसन छ । हामीसँग दस वर्षमा काम गरेको लामो सूची छ ।’

एजेन्सीको सहयोगमा ।

 

प्रतिक्रिया दिनुहोस्