आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला
काठमाडौं, ३० मंसिर। कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ फेला परेको छ ।
घटनास्थल नजिकै सुसाइड नोट फेला परेको प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले बताए । ‘सुसाइड नोट भेटिएको छ । त्यसमा आत्मदाह गर्नुको कारण कसैलाई दोष लगाइएको छैन,’ डीएसपी गोद्दारले अनलाइनखबरसँग भने ।
शनिबार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।
सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन् । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषयबारे एक अनुसन्धान अधिकृतले भने ।
घटनास्थल नजिकै उनले कागजमा सुसाइड नोट लेखेर छाडेकी थिइन् । जसमा यो घटनाबारे आफ्ना श्रीमान्लाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ ।
१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी ती महिला र उनका श्रीमान्बीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ । त्यसमा पनि उनले अरूलाई कुनै दोष लगाएकी छैनन् ।
मृत महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन् । केही समयदेखि कम बोल्ने र एकान्त मन पराउने गरेको उनका परिकारको सदस्यहरूले प्रहरीलाई बताएका छन् ।
श्रीमान्सँग कुराकानी भएको केही समयमै उनले आत्मदाहको प्रयास गरेकी थिइन् । बा ३५ प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन् ।
आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो । उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्