असद परिवारको पाँच दसक लामो शासनको अन्त अमेरिका र इजराइलको योजनामा भएको : इरानका सर्वोच्च कमाण्डर खामेनी

काठमाडौ,२६ मंसिर । इरानले सिरियाका राष्ट्रपति बशर अल-असदको बहिर्गमन अमेरिका र इजराइलको योजनामा भएको आरोप लगाएको छ ।

इरानका सर्वोच्च कमाण्डर आयातोल्लाह अलि खामेनीले सिरियाबाट भागेका राष्ट्रपति असदको बहिर्गमन अमेरिका-इजराइलको योजनामा भएको भन्दै आरोप लगाएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

असदको बहिर्गमनमा षड्यन्त्रकारी र मुख्य कमाण्ड सेन्टर अमेरिका हो भन्नेमा इरानलाई कुनै शंका छैन । खामेनीले भने, ‘हामीसँग थुपै्र प्रमाणहरु छन् ।’ खामेनीले टर्कीको पनि यसमा भूमिका रहेको तर अमेरिका र इजराइल नै मुख्य षड्यन्त्रकारी रहेको आरोप लगाएका हुन्।

इजराइलसँग आफ्नो सिमाना नजोडिएकाले इरानले छिमेकी देशहरूमा विभिन्न समूह परिचालन गरि घेराबन्दी गर्छ । लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इजराइलमाथि आक्रमण गराउँछ । असद वंशले राज गरेको सिरियाको भूमि पनि हिजबुल्लाहलाई हतियार दिन र हमासलाई समर्थन गर्न इरानले प्रयोग गर्दै आएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को कुर्दस् फोर्सले इजराइल र अमेरिकाविरूद्ध बनाएको विदेशी समूहहरूको यो मोर्चाबन्दीलाई एक्सिस अफ रेजिस्टेन्सु भनिन्छ ।

सिरियाबाट असदको बहिर्गमनपछि खामेनीले मोर्चाबन्दी थप बलियो हुने र पूरै क्षेत्रमा आफ्नो पहुँच विस्तार गर्ने बताए ।

सिरियाका विद्रोही लडाकूहरू मंसिर २३ गते दमास्कसमा पुगेपछि राष्ट्रपति असदले देश छाडेका थिए । सुरूमा उनी कहाँ गए भन्ने गोप्य राखिएको थियो । पछि उनी आफ्ना परिवारसहित रूस पुगेको खुलेको थियो । असदले देश छाडेलगत्तै विद्रोही लडाकूहरूले सिरियामा असद परिवारको पाँच दसक लामो शासनबाट मुक्त भएको घोषणा गरेका थिए ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्