प्रहरीद्वारा दक्षिण कोरियाली राष्ट्रपति कार्यालयमा छापा

काठमाडौं, २६ मंसिर । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको कार्यालयमा प्रहरीले छापा मारेको छ।

गत मंगलबार राति अचानक सैनिक शासन (मार्सल ल)को घोषणा गरेर विवादमा तानिएका राष्ट्रपति योलको कार्यालयमा बुधबार अनुसन्धानका लागि प्रहरीले छापा मारेको न्युयोर्क टाइम्सले जनाएको छ।

प्रतिपक्षी दलका सांसद जुङ चुङ–रेइले संसदीय सुनुवाइमा प्रहरीले राष्ट्रपति कार्यालयमा छापा मारेको बताएका थिए।

यसअघि कानुन मन्त्रालयले पनि राष्ट्रपति योललाई विदेश जानबाट रोक लगाएको थियो।

उच्चस्तरीय व्यक्तित्वहरूमाथि छानबिन गर्नका लागि बनेको भ्रष्टचार अनुसन्धान कार्यालयले सोमबार विदेश जानबाट रोक लगाउन अनुमति माग गरेको थियो। त्यसपछि कानुन मन्त्रालयले स्वीकृति दिएको थियो।

राष्ट्रपति पदमै रहँदा अनुसन्धानमा हुनेमा युन दक्षिण कोरियाका पहिलो व्यक्ति बनेका छन्। सम्भवतस् पदमै रहेको बेलामा पक्राउ पर्न सक्ने भनेर टाइम्सले समाचारमा लेखेको छ।

राष्ट्रपतिमाथि विपक्षी दलले विद्रोह गरेको आरोप पनि लगाएका छन्। सैनिक शासन लागु गरेर संसदमा सांसदहरूलाई रोक्नका लागि सेना नै पठाएको आरोप समेत लगाएका हुन्। युनले सैनिक शासन लगाएको ६ घण्टामै संसदबाट उल्टिएको थियो।

यो घटनापछि राष्ट्रपतिमाथि कोरियाले विभिन्न निकायहरूले छानबिन अघि बढाएका छन्। अनुसन्धान सुरू भएसँगै पूर्वरक्षा मन्त्री किम योङ(ह्युनलाई पक्राउ गरिसकेको छ।

प्रहरीको राष्ट्रिय अनुसन्धान कार्यालयबाट पनि १५० जनाको टोली बनाएर अनुसन्धान अघि बढाएको उक्त कार्यालय प्रमुख वू जोङ(सोले बताए।

सैनिक शासन लागुगर्ने घोषणा गरेपछि संसदमा उनीविरूद्ध महाअभियोगको प्रस्ताव पनि लगेको थियो। तर प्रस्ताव पनि अस्वीकृत भएको थियो।

प्रतिक्रिया दिनुहोस्