च्याम्पियन्स लिगमा पिएसजी विजयी, डिफेन्डर कुर्जावाको ह्याट्रिक

एजेन्सी । गए राति च्याम्पियन्स लिगको समूह ‘बि’ को खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई ५–० ले हराएको छ । पिएसजीको जितमा डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा नयाँ इतिहास रचेका छन् ।

खेलको ३० औँ मिनेटमा किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफको अन्तिम मिनेटमा डि–बक्स बाहिरबाट सुन्दर गोल गर्दै नेयमारले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा पिएसजीले थप ३ गोल गर्दा तीनै गोल डिफेन्डर लेभिन कुर्जावाको नाममा रह्यो । ५२ औँ मिनेटमा कुर्जावाले खेलको आफ्नो पहिलो गोल गरे र ७२ औँ मिनेटमा हेडिङमार्फत स्कोर ४– ० बनाए ।

त्यस्तै ७८ औँ मिनेटमा कुर्जावाले बक्स भित्रबाट गरेको प्रहारले उनले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । यस प्रदर्शनसँगै कुर्जावा च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्