११ जनाविरूद्ध मुद्दा दर्ता, कोशी सांसद लिलाबल्लभ अधिकारीको मुद्दा नचल्ने निर्णय गर्दै उन्मुक्ति दिइयो
काठमाडौं, १० मंसिर। नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा कोशी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद लिलाबल्लभ अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।
अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो। दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन्।
न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ।
जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए। उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो।
राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए।
‘उहाँको संलग्नता देखिँदैन। उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ। जापानको ल मिनिस्टरले तीन जनालाई चाहि फिर्ता गरेको देखिन्छ। तीन जनाविरूद्ध एक्सक्लुसन अर्डर भनेर पठाएको छ। र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ,’ अर्यालले भने।
त्यस्तै सांसद अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको अर्यालले बताए।
‘उहाँले थाहा पाएपछि डिआइजीलाई ह्वाट्सएपमा मेसेज गरेको छ। डिआइजीबाट पनि प्रतिवेदन प्राप्त भएको छ। उनीसँगको स्क्रिनसटहरूबाट पनि त्यही देखिन्छ,’ उनले भने।
यसपछि डिपोर्ट भएपछि तीन जनामाथि सोधपुछ गरेको आधारमा प्रहरीले महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरेको थियो। महेश पाण्डे यसमा मुख्य भूमिकामा देखिएका थिए।
‘महेशले सांसदलाई तीन जना अरू पनि आउँदैछन् भनेर ह्वाट्सएपमा मेसेज गरेको देखिन्छ। तर सांसदले उक्त मेसेज खोलेको पनि देखिन्न,’ अर्यालले भने, ‘उहाँका नाममा किर्ते भएर कागजातहरू बनेका थिए। ती कागजातमा भएका हस्ताक्षर पनि उहाँसँग मेल नखाएको भन्ने प्रहरीबाट प्राप्त भएको छ।
कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले कात्तिक २१ गते पत्रकार सम्मेलन गरी मन्त्रीको पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएपछि घटनाबारे बाहिरिएको थियो। अनुसन्धानकै क्रममा प्रहरीले उनलाई कात्तिक २५ गते विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
जिल्ला परिसर काठमाडौंले उनीसहित ९ जनालाई हिरासतमा लिएर मानव बेचबिखन तथा लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो।
प्रतिक्रिया दिनुहोस्