आजदेखि महिला लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरुः कसैले पनि हिंसा, अपमान र विभेद महसुस गर्न नपरोस्: प्रधानमन्त्री
काठमाडौं, १० मंसिर। आजदेखि महिला लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ सुरु भएको छ ।
नेपाल सरकारले हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९८० देखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको इतिहास छ ।
नेपालको मन्त्रिपरिषद बैठकले २०७५ साल मंसिर २ गते नेपालमा सामाजिक सचेतनासहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा निकायहरु, ७ वटै प्रदेश सरकार, ७७ वटै जिल्ला समन्वय समिति, ७५३ वटै स्थानीय तह एवं त्यसका वडाहरु सरोकारवाला निकायहरु, सामाजिक संघसंस्थाहरुलाई आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै निकायहरुले विभिन्न कार्यक्रम आयोजना गरी लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सञ्चालन गर्दै आएका छन् ।
अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै कसैले पनि हिंसा, अपमान र विभेद महसुस गर्न नपरोस् भनी शुभकामना दिएका छन् ।
यो अभियानलाई सबैको संयुक्त प्रयासबाट अगाडि बढाउन जरुरी रहेको भन्दै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘एउटा मेसिनलाई यन्त्र ठान्ने दास युग, महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट हामी अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानुनी हिसाबले र व्यवहारिक हिसाबले आधुनिक, समतामुलक, शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं र यसलाई अझ उन्नत बनाउने हाम्रा प्रयास जारी छन् ।’
यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्रीको छ । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘म सबैलाई आग्रह गर्न चाहन्छु, हरेक संघसंस्था वा समाज सबै ठाउँबाट संकल्प गरौं कि अब हामी लैंगिक हिंसा, भेदभाव हुन दिनेछैनौं । यस अभियानले हामी सबैलाई त्यही प्रेरणा प्रदान गरोस् ।’
प्रतिक्रिया दिनुहोस्