नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलियो : विप्लव

काठमाडौं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको बनाएका हुन् ।

उनले पुराना पार्टीले एक अर्कालाई भ्रष्टाचारीको आरोप लगाउने र आफू भ्रष्टाचारी नभएको प्रष्टीकरण मात्रै दिने गरेको आरोप लगाए ।

‘नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको छ । पुराना पार्टी एकले अर्कालाई भ्रष्टाचारीको आरोप लगाएका छन् । म भ्रष्टाचारी होइन । मैले विदेशमा पैसा लुकाएको छैन जस्ता प्रष्टिकरणमात्रै दिएको देखिन्छ । म अन्यायमा परेको मात्रै सुनिन्छ । भ्रष्टाचारको ठुलो अतंक छ । माथिबाट बजेट जान्छ सबै बाँडेर खान्छन् । वडादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ’, उनले भने ।

वर्षैपिच्छे सरकार बनेको भन्दै उनले वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो भन्ने आशङ्का गरे ।

पार्टीले राजधानीमा र्‍याली निकालेको थियो । शनिवार ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा सो पार्टीले काठमाडौँमा र्‍याली निकालेको हो ।

सभाअघि निस्किएको र्‍याली सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो । सभालाई नेकपाका अध्यक्ष विप्लवले सम्बोधन गरेका थिए । । सभामा विभिन्न जिल्लाबाट मानिसहरू उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्