काठमाडौंको तीन वटा ठाउँमा शुक्रबार एकै समयमा प्रदर्शन

काठमाडौं, ६ मंसिर। काठमाडौंको तीन वटा ठाउँमा शुक्रबार प्रदर्शन हुने भएको छ।

विभिन्न पक्षले शुक्रबार एकैसाथ प्रदर्शन गर्न लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यसअनुसार सुरक्षाको योजना पनि बनाएको छ।

नेकपा (एमाले) ले शुक्रबार जागरण सभा गर्न लागेको छ। एमालेले र्‍याली गरेर काठमाडौंको दरबारमार्गमा प्रदर्शन गर्ने अनुमति प्रशासन कार्यालयबाट लिएको छ।

त्यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको पनि प्रदर्शन छ।

प्रसाईं हाल साइबर अपराधको कसुरमा पक्राउ परी साइबर ब्युरोको हिरासतमा छन्। तर उनको पूर्व निर्धारित प्रदर्शन हुन लागेको हो।

प्रसाईंका पक्षधरलाई प्रशासन कार्यालयले काठमाडौंको कोटेश्वरमा अनुमति दिएको छ।

माइतीघरमा भने सहकारी पीडित सहित अन्य प्रदर्शन हुन सक्ने प्रशासनले जनाएको छ। सहकारी पीडितले बचत फिर्ताको माग गर्दै माइतीघर मण्डला केन्द्रित प्रदर्शन गर्दै आएका छन्।

काठमाडौंका तीन ठाउँमा प्रदर्शन हुने भएपछि सुरक्षा र जनजीवन सहज बनाउन योजना बनाइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए।

‘हामीले नागरिकलाई ढुक्क भएर, सहज रूपमा हिँडडुल गर्न पाउने हिसाबले योजना बनाएका छौं,’ उनले भने, ‘ठाउँहरू पनि विभिन्न ठाउँमा तोकेका छौं।’

यद्यपि प्रदर्शन हुने क्षेत्रहरूमा सवारी चाप भने हुन उनले बताए। ‘ट्राफिक जाम त हुन्छ। तर त्यसलाई पनि धेरै असर नपरोस् भन्ने हिसाबले हामीले योजना बनाएका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्