पहिलो त्रैमासमा चन्द्रागिरी हिल्सको नाफा बढ्यो

काठमाडौ,३० कात्तिक । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आ.व. को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

कम्पनीले चालु आ.व. को पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.४५ प्रतिशत बढी हो । गत आ.व. को सोही अवधिसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी घटेपनि वित्तीय खर्च र कुल खर्च घटेका कारण कम्पनीको नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेको छ भने कुल आम्दानी ५.६९ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत र कुल खर्च ४.०६ प्रतिशत घटेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ पैसा बढेर १ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ ।

कम्पनीको १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको भने जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्