रवि लामिछानेको बयान सकेर पोखरा पठाउने तयारी गर्दे

काठमाडौं,२९ कात्तिक । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजोदेखि लिखित बयान लिन सुरु गरिएको हो ।

लामिछानेसंग हिजो र आज गरि ७० भन्दा धेरै लिखित प्रश्न सोधेको र उनले इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतले जानकारी दिए । आजै ४:४० को फ्लाइट मा पोखरा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबार पहिलो दिन मौखिक र हिजोदेखि लिखित बयान लिइएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृतलगायतको सहभागिता छ । लिखित बयानका आधारमा पुरुक प्रतिवेदन बनाउने तयारी छ ।

लामिछानेको बयान सकिएर विमानस्थल लैजाने क्रममा रास्वपाका कार्यकर्ताले मोटरसाइकल र्‍याली प्रर्दशन गर्दै छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नारा जुलुस गर्न निषेध गरेको छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दिपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा लगिएका कुमार रम्तेल र शिवबहादुर गुरुङको यस अघिनै बयान भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्