रुपन्देहीमा रविसंगको बयान अझै सकिएन भोली पुनः हुने

काठमाडौं२८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवामा जारी बयान बुधबार दोस्रो दिन पनि सकिएको छैन । उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइएको हो ।

करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । बयान लिने काम करिब करिव सकिएको छ, बयान रुजु गर्ने र रोलक्रम गर्न बाँकी छ, भोलि १० बजेदेखि पुनः बाँकी बयान हुने पौडेलले बताए । उनी विरुद्ध परेको सहकारी ठगीको कसुरमा केन्द्रित रहेर नै सवाल जवाफ भएका छन् उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएका छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो । यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेबिरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । त्यस्तै, अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए ।

पहिलो दिन मंगलबार दिउसो १ बजेपछि करिब २० वटा मौखिक प्रश्नहरु सोधिएकोमा लामिछानेले इन्कारी बयान दिएका थिए ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमको अनुसन्धान गर्न मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध ८ कात्तिकमा पक्राउ पूर्जी जारी गरिसकेको थियो ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्