रुपन्देहीमा रविसँग बयान लिइदै
काठमाडौ, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।
लामिछानेलाई मंगलबार नै कास्कीबाट बुद्ध एयरको विमानबाट भैरहवा ल्याइएको थियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो ।
पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । यता रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरूले प्रदर्शन गरेको रास्वपा प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे बताए ।
रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु भएको बताए ।
लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको अनुसन्धानमा देखाइएको छ ।
प्रतिक्रिया दिनुहोस्