आजदेखि देशभर लोडसेडिङ हट्यो !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।

खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको  लोडसेडिङ पनि अन्त्य गरिएको पनि उहाँले बताउनुभयो ।

यससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा  लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्