रास्वपाका सभापति लामिछानेलाई बयानका लागि आज बुटवललैजाँदै
काठमाडौं, २७ कार्तिक। सहकारी संस्थाको रकम अपचलन तथा हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लैजादै छ ।
बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी छ । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने छ । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ ।
पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ । यसले गर्दा बुटवल सुरक्षालाई लिएर सबै चासो उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्