नेपाल विद्युत प्राधिकरणको बक्यौता तिरेपछि मात्रै उद्योगमा लाइन जोड्नुपर्छ

काठमाडौं,२६ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले उद्योगहरूले बक्यौता तिरेपछि मात्रै लाइन जोड्ने व्यवस्था मिलाउन सरकारलाई ‍ध्यानाकर्षण गराएका छन् ।

सरकारले २४ घण्टाभित्र सबै उद्योगमा लाइन जोड्ने निर्देशन प्राधिकरणलाई दिएसँगै सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले सो ध्यानाकर्षण गराएका हुन्। ।

६० दिनभन्दा बढी समय महसुल नतिर्ने आम उपभोक्ताको लाइन काटी महसुल असुल उपर गर्ने प्रावधान रहेका कारण उद्योगीले पनि उपभोग गरेको बिजुलीको महसुल तिर्नुपर्ने उनीहरूको भनाइ छ ।

प्राधिकरणले पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत तोकिएको समयावधिभित्र बक्यौता नबुझाउने ग्राहकहरूको लाइन काट्न प्राधिकरण बाध्य भएको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन्। ।

यसअघि प्राधिकरणले लाइन काटेपछि सरकारी स्वामित्वका दुई समेत गरी १४ उद्योगले किस्ताबन्दी सुविधाअनुसार पहिलो किस्ता बक्यौता बुझाएका थिए ।

बक्यौता बुझाएपछि ती उद्योगमा लाइन जोडिएको र बक्यौता नतिर्ने उद्योगमा भने लाइन काटिएको थियो ।

सञ्चालक समितिले ग्राहकलाई सहजीकरण गर्न किस्ताबन्दी सुविधामा ५६ किस्ताको सुविधा उपलब्ध गराउने निर्णय गरिसकेको अवस्थामा बुझाइसकेपछि लाइन जोड्नुपर्नेमा सरकारबाट २४ घण्टा भित्रमा काटिएको लाइन जोड्नुपर्ने निर्देशन दिनुले आगामी दिनमा महसुल असुलीमा प्रतिकूल असर परी संस्था धरासायी हुने निश्चित छ, कर्मचारी द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्