पहिलो त्रैमासमा सिंगटी हाइड्रोको नाफा बढ्यो

काठमाडौं,२६ कात्तिक । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आ.व.को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.०५ प्रतिशत बढी हो । गत आ.व.को सोही अवधिमा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी थोरै घटेपनि खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.२८ प्रतिशत घटेर २६ करोड ३५ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०५ प्रतिशत घटेको छ भने कुल आम्दानी ०.८१ प्रतिशत बढेको छ । अन्य आम्दानी बढेका कारण कम्पनीको कुल आम्दानी बढ्न पुगेको हो ।

नाफा उल्लेख्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी ९५ पैसा मात्र बढेको छ । हकप्रद शेयर निष्काशन गरी चुक्ता पूँजी शतप्रतिशत बढेका कारण कम्पनीको प्रतिशेयर आम्दानीमा दबाब पुगेको हो । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६।५४ गुणा रहेको छ ।

यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेकोे छ भने जगेडा कोषमा ६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्