कुर्सी बचाउन ओलीले एसपीपी सम्झौता गर्न सक्छनः प्रचण्ड

काठमाडौं, २५ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता अगाडि बढाउन लागेको आरोप लगाएका छन् । माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले आइतबार मकवानपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली सरकारमाथि गम्भीर आरोप लगाएका हुन् ।

‘अर्को गम्भीर कुरा एसपीपीलाई अहिलेको प्रधानमन्त्रीले अघिल्लो पटक सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकी मिडियामा आइसकेको छ । यो गम्भीर चिन्ताको विषय छ । यो सरकार आफ्नो कुर्सी बचाउनका निम्ति राष्ट्रिय स्वाधीनताको सौदाबाजी गर्ने, राष्ट्रप्रति घात गर्ने त होइन ? सैद्धान्तिक सहमति गम्भीर विषय हो । त्यसमा सम्झौतातिर जाने हो कि स्थिति छ’, प्रचण्डले भने ।

अमेरिकाले सैन्य सम्पर्क स्थापना गर्नका लागि एसपीपी विभिन्न देशसँग सम्झौता गरेको छ । अमेरिकाको सुरक्षा नीतिसँग जोडिएको विषय भएकाले एसपीपी सम्झौता गर्न नहुने पक्षमा नेपालका विभिन्न राजनीतिक दल, बौद्धिक वर्ग, नागरिक समाज लगायत नागरिक स्तरबाट नै एसपीपी सम्झौताको व्यापक विरोध भइरहेको छ ।

यसअघि २०७८ मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज परियोजना (एमसीसी) अनुमोदन भएकोमा व्यापक विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्