आप्रवासी फर्काउने योजना कार्यान्वयनमा जोड दिन्छुः निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प
काठमाडौं, २३ कार्तिक। अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् ।
सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् ।
एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताए । उनले अगाडि भने, ‘प्रशासनसँग ठूलो मात्रामा आप्रवासीलाई निर्वासन गर्ने योजनाको विकल्पै छैन ।’
चुनावी अभियानको क्रममा ट्रम्पले लाखौं अवैध आप्रवासीहरूलाई देशबाट निकाल्ने घोषणा गरेका थिए । उनले राज्यका सबै तहका निकायहरू परिचालन गरेर अवैध आप्रवासीहरूलाई पक्रने, जेलमा राख्ने र देशबाट निकाल्ने ‘मास डिपोर्टेसन प्लान्स’ अगाडि सारेका थिए ।
ट्रम्पले आफ्नो आप्रवासन नीतिकै कारण चुनावमा विजयी भएको उल्लेख गरे । उनले यो चुनावमा आफ्ना अभियानले धेरै थरीका मतदातालाई आकर्षित गरेको बताए ।
उनले सीमालाई बलियो र शक्तिशाली बनाउने र सँगसँगै अमेरिकामा मानिसहरू आइरहने वातावरण पनि बनाउने बताए । ‘तपाईंलाई थाहा छ कि म त्यस्तो व्यक्ति होइन जसले तपाईं अमेरिका आउन सक्नुहुन्न भनोस्, हामी मानिसहरू यहाँ आऊन् भन्ने चाहन्छौं,’ उनले भने, ‘जब मानिसहरूले हत्या र हत्याका घटनाहरू गरेका छन्, जब लागूऔषध मालिकहरूले देशहरू ध्वस्त बनाएका छन्, अब तिनीहरू ती देशहरूमा फर्कनेछन् किनकि उनीहरू यहाँ बस्ने छैनन्।’
चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्