सुपर मादी हाइड्रोपावरको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित, नाफा ५०.८४ प्रतिशतले बढ्यो
काठमाडौं,२३ कात्तिक । सुपर मादी हाइड्रोपावर लि.ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढेर १६ करोड १३ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १० करोड ६९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटे पनि वित्तीय खर्च नियन्त्रण हुँदा खुद नाफा बढेको हो ।
हाइड्रोपावरले विद्युत् बिक्रीबाट हुने आम्दानी २।५७ प्रतिशतले घटेर ४२ करोड १५ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा हाइड्रोपावरले विद्युत् बिक्रीबाट ४३ करोड २७ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, वित्तीय खर्च २९.३२ प्रतिशतले घटेर १६ करोड ३५ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वित्तीय खर्च २३ करोड १३ लाख ८५ हजार रुपैयाँ थियो ।
हाइड्रोपावरको चुक्ता पुँजी २ अर्ब १० करोड र जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ रहेको छ । त्यसैगरि, प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्