उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न
काठमाडौं, २३ कार्तिक। विशेष गरि तराईबासीको महत्वपूर्ण पर्व छठपर्व उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको चौथो दिन आज बिहान देशभरिका जलाशयबाट उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो ।
व्रतालुले अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका थिए । भजनकिर्तनसहित रातभर जाग्राम बसेका व्रतालुले आज बिहानै पूजासामग्री र प्रसादसहित उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् ।
सूर्यको उपासनासहित विधिपूर्वक छठ पर्व मनाउँदा पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ । यही विश्वासका साथ सूर्यलाई अर्घ अर्पूण गर्ने श्रद्धालुको पोखरी, नदी, तलाउ लगायतका जलासयमा भीड लागेको थियो ।
छठ पूजाका सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहितका पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् । यसलाई राष्टिय पर्वको रुपमा मनाइन्छ ।
काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुले कमलपोखरी, गौरीघाट लगायतका स्थानबाट छठ पूजा गरेका छन् । काठमाडौं महानगरपालिकाका अनुसार यसपटक वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको थियो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको थियो । यसरी धुमधाम र हर्षउल्लासकासाथ छठ मनाएएको छ ।
प्रतिक्रिया दिनुहोस्