एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौै, २१ कार्तिक । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्देछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले कात्तिक २७ गते मंगलबार बुकक्लोज गर्दैछ । यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। प्रकाशित सूचना अनुसार इन्स्योरेन्सको यस हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। । त्यसैगरि, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। ।
इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्