स्नेहाज केयरले गरे १२ हजार कुकुरको बन्ध्याकरण

काठमाडौँ, १६ कत्तिक। स्नेहाज केयर नामक सामाजिक संस्थाले चार लाख ५८ हजार विद्यार्थीलाई पशु कल्याण तथा अधिकार सम्वन्धी चेतनामूलक शिक्षा प्रदान गरेको छ।
देशका विभिन्न जिल्लामा पुगेर सामुदायिक तथा निजि विद्यालयका विद्यार्थीहरुलाई पशु कल्याणकाबारेमा आवश्यक ऐन नियम तथा अन्तराष्ट्रिय अभ्यासबारे जानकारी गराएको हो।

संस्थाले ३७ हजार १४१ कुकुरलाई रेबिज विरुद्धको खोप, ११ हजार ६४२ कुकुरको बन्ध्याकरण र २४ हजार गाई, भैंसी, कुकुरलगायत घाइते पशुको उपचार गरेको जनाएको छ।

संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले पशुपंक्षी माथि हुने दुर्व्यवहार तथा अमानवीयता न्यूनीकरण गर्न पशु कल्याण ऐनको खाँचो औँल्याउनुभयो।

पशु कल्याणको क्षेत्रमा कृयाशिल सो संस्थाले विगत एक दशकदेखि सामूहिक कुकुर पूजा गर्दै आएको छ।

कुकुर तिहारका अवसरमा बिहीबार एकसय ७० कुकुरको सामूहिक पूजा गरेको छ। संस्थाले संरक्षण गरेर सेल्टरमा राखेका ती कुकुरलाई बिधि बिधान पूर्वक पूजाआजा गरी माला लगाइदिएर मिठा खानेकुरा दिइएको हो।

बौद्ध धर्मगुरुले कुकुरलाई पूजा गरी माला लगाइदिँदा सहभागीले रमाइलो अनुभव गरेका थिए।

सो अवसरमा पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले पशु कल्याण सम्बन्धी ऐन छिट्टै ल्याइने बताउदै त्यसका लागि सम्बन्धित पक्षसँग सुझाव संकलन, छलफललगायत अन्य तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले पशु अधिकारका लागि विभिन्न तहमा चेतनामूलक कार्यक्रमहरू संचालन गरी संस्थाले समाजमा नयाँ मान्यता स्थापना गरेकामा त्यसको सराहना गर्नुभयो।

विश्व स्वास्थ संगठनका प्रतिनिधि सुदन ज्ञवालीले
अलपत्र परेका पशुलाई संरक्षण गरी समाजमा मानवीय संवेदना फैलाउन संस्थाले भूमिका निर्वाह गरेको बताउँदै सामूहिक कुकुर पूजाले तिहारको संस्कृतिलाई समेत संरक्षण गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्