गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बढायो नाफासंगै प्रति सेयर आम्दानी
काठमाडौं,१३ कात्तिक । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
चालु आ.व.को असोज मसान्तसम्ममा लघुवित्तले १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आ.व. को सोही अवधिको तुलनामा ९८९.१७ प्रतिशत बढी हो । लघुवित्तले गत आर्थिक वर्ष ९ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी बढेको र सम्भावित जोखिम बापतको व्यवस्थाको रकम घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४२.०८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६६.६० प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ११२.३१ प्रतिशत र सञ्चालन मुनाफा ९९९.९३ प्रतिशत बढेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३१ रुपैयाँ ४१ पैसा बढेर ३५ रुपैयाँ ९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ९७ पैसा रहेको छ।
११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ सञ्चित छ । पहिलो त्रैमासको अन्तसम्ममा लघुवित्तले १ अर्ब २८ करोड ४७ लाख रुपैयाँ सापटी तथा ३३ करोड २९ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्