तेलको भाउ इरान–इसराइलबीच युद्ध नहुने देखिएपछि ह्वात्तै घट्यो

काठमाडौं, १२ कार्तिक । इरान र इसराइलको युद्ध सुरू नहुने देखिएपछि कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ ह्वात्तै घटेको छ।

अक्टोबर १ मा इरानले इसराइलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि इसराइलले कडा जबाफ फर्काएर दुई देशबीच युद्ध हुने खतरा बढेको थियो। त्यसैकारण सेप्टेम्बरको अन्त्यमा ७२ डलर प्रति ब्यारेल रहेको भाउ बढेर केही दिनमै ८० डलरको हाराहारी पुगेको थियो।

तर इसराइलले शनिबार युद्ध नभड्किने गरी सैन्य संरचनामा मात्रै प्रहार गरेपछि र इरानले पनि कडा जबाफ नफर्काउने देखिएपछि भाउ घटेको छ।

शुक्रबार बजार बन्द हुँदा ७६ डलर रहेको भाउ सोमबार एकैपटक घटेर ७३ डलरभन्दा तल झरेको छ। यो समाचार तयार पार्दै गर्दा कच्चा तेलको भाउ ७२.६९ डलर प्रति ब्यारेल छ।

अमेरिका अहिले विश्वको सबैभन्दा ठूलो तेल उत्पादक भएकाले र खाडी क्षेत्रभन्दा बाहिर नै धेरै तेल उत्पादन हुने भएकाले केही दशकअघि जस्तो तेल आपूर्ति खाडी क्षेत्रमा मात्रै निर्भर छैन। तर पनि त्यहाँ युद्ध भए वा त्यहाँ तेल उत्पादन-निर्यातमा असर भए पहिले जस्तो एकदमै धेरै नभए पनि अझै पनि बजार भाउमा प्रभाव भने पर्छ।

इरानले अक्टोबर १ मा इसराइलमाथि प्रहार गरेपछि फेरि पनि इरानले आक्रामक प्रहार गर्नु नपर्ने गरी जबाफ दिन इसराइललाई अमेरिकाले भनिरहेको थियो। आणविक भट्टी र तेलखानीमा प्रहार नगर्न सम्झाइरहेको थियो।

आणविक भट्टीमा प्रहार गरे युद्ध नै हुने खतरा थियो। त्यसो हुँदा तेलको भाउ ह्वात्तै बढ्न सक्थ्यो। तेलखानीमा आक्रमण गरेको भए पनि युद्ध सुरू हुनसक्थ्यो। युद्ध नै नभड्किए पनि तेलको भाउ भड्किने खतरा थियो। तेलको भाउ धेरै बढे अमेरिकी उपभोक्ता र अर्थतन्त्रमा नकारात्मक प्रभाव परिहाल्थ्यो। अनि नोभेम्बर ५ मा हुने निर्वाचनमा हालका राष्ट्रपति जो बाइडेनको दलकी उम्मेदवार कमला ह्यारिस हार्ने सम्भावना बढ्थ्यो। त्यसैले इरानी तेल खानीमा आक्रमण नगर्न अमेरिकाले सम्झाइरहेको थियो।

इसराइलले अमेरिकाको सुझाव अनुसार नै शनिबार सैन्य संरचनामा मात्रै हमला गरेको थियो। त्यो पनि इरानले कडा आक्रमण गर्नुनपर्ने गरी गरेको थियो। त्यतिमात्रै होइन शनिबारको हमलाअघि इसराइलले कस्ता ठाउँमा हमला गर्दैछ र कस्तामा गर्दैन भनेर तेस्रो पक्षमार्फत् इरानलाई जानकारी गराएको थियो।

इरानले अहिले इसराइलको हमलाको जबाफ दिने अधिकार भएको भनिरहे पनि कडा जबाफ नदिने देखिएको छ। इसराइली हमलापछि विज्ञप्ति निकालेर इरानी सेनाले इरानको ध्यान गजा र लेबननमा युद्धविराम गराउन रहेको बताएको छ।

त्यस्तै, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले पनि तुरून्तै कडा जबाफ दिने नबताएर इसराइली हमलालाई हल्कासित लिन र बढाइ–चढाइ गर्न नहुने बताएका छन्। त्यसैले बजारले युद्ध नभड्किने आकलन गर्दै सोमबार व्यापार खुल्नै बित्तिकै भाउ तीन डलरभन्दा धेरैले घटेर ७३ डलरभन्दा तल झरेको छ।

इरानले अक्टोबर १ मा हमला गरेपछि इसराइलले कडा जबाफ फर्काएर दुई देशबीच युद्ध होला भनेर सेप्टेम्बरको अन्त्यमा ७२ डलरप्रति ब्यारेल रहेको भाउ बढेर ८० डलरको हाराहारी पुगेको थियो।

तर इसराइलले तुरून्तै कडा जबाफ नफर्काएपछि, र ढिलोगरी फर्काए पनि कडा बदला नदेखिने लक्षण देखिएपछि विस्तारै झरेर ७५ डलरको आसपास रहेको थियो।

त्यसै अनुमान अनुसार इसराइलले शनिबार युद्ध नभड्किने गरी सैन्य संरचनामा मात्रै प्रहार गरेपछि र इरानले पनि कडा जबाफ नफर्काउने देखिएपछि तेलको भाउ घटेर फेरि इरानले अक्टोबर १ मा हमला गर्नु अघिको स्थितिमा पुगेको छ।

स्रोतः एजेन्सी

प्रतिक्रिया दिनुहोस्