एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी
काठमाडौं,११ कात्तिक । अमेरिकी उन्नत कम्प्युटिङ चिप उत्पादक गर्ने सस्था एनभीडीयाको बजार पुँजीकरण ३।५३ ट्रिलियन अर्थात, ३५ खर्ब ३० अर्ब भन्दा धेरै पुगेको छ । पुँजीकरण बढेसँगै यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । यसले एप्पललाई पछि पार्दै बजार पुँजीकरणको आधारमा विश्वको शीर्ष स्थानमा पुगेको हो । पछिल्लो ५ वर्षमा यस कम्पनीको सेयर भाउ २६६९ प्रतिशत बढेको छ ।
कम्पनीले उच्च गति र उन्नत कम्प्युटिङ चिपहरु र विशेष गरी एआइ क्षेत्रमा यसको बढ्दो प्रभाव रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्येमहरुले जनाएका छन् । एनभीडीयाका जीपीयुहरु एआइ मोडेललाई प्रशिक्षित गर्न र चलाउनका लागि विशेष गरी लोकप्रिय छन् । जसले गर्दा एआइसँग सम्बन्धित व्यवसाय र डेटा सेन्टरहरुको माग धेरै नै बढिरहेको छ ।
एनभीडीयाले एआइसँग सम्बन्धित चिप्सको विकास र नयाँ उत्पादनहरु ल्याएर प्रविधि बजारमा ठूलो प्रभाव पारिरहेको छ । यसै कारणले एनभीडीया एआइ, मसिन लर्निङ र स्वचालन प्रणालीको लागि आवश्यक प्रोसेसरहरुको विकासमा शीर्ष स्थानमा पुगेको छ ।
एनभीडीयाले विभिन्न साझेदारीहरु पनि स्थापित गरिरहेको छ । त्यस मध्ये प्रमुख कम्पनीमा माइक्रोसफ्ट, अमेजन र गुगल जस्ता ठूला कम्पनीहरु सामेल छन् । यी साझेदारीहरुले एनभीडीयालाई एआइ क्लाउड र कम्प्युटिङ क्षेत्रमा अझै बढी बलियो बनाएको छ ।
- एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्