नेपाल कतारसँग ५-० ले पराजित
काठमाडौं, १० कार्तिक।एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो ।
दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे ।
समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९-२ ले पराजित भएको थियो ।
उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २-० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।
यस्तै अर्को खेलमा जापनले मंगोलियालाई ७-० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् ।
गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ । यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ ।
छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागि ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपका लागि छनोट हुनेछ ।
यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वतस् छनोट भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्