बंगलादेशमा फेरि युवाहरू प्रदर्शनमा उत्रिए

काठमाडौं, ७ कार्तिक । बंगलादेशमा फेरि युवाहरू प्रदर्शनमा उत्रिएका छन्।

मंगलबार राजधानी ढाकामा सयौं मानिसहरू सडकमा निस्केर प्रदर्शन गरेका हुन्।

बंगलादेशको अखबार द डेली स्टारका अनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले निर्वासित प्रधानमन्त्री शेख हसिनाको राजीनामाबारे विवादास्पद अभिव्यक्ति दिएपछि त्यहाँ युवाहरूले प्रदर्शन गरेका हुन्।

सोमबार एक पत्रिकामा राष्ट्रपति सहाबुद्दिनसँगको अन्तर्वार्ता प्रकाशित भएको थियो। अन्तर्वार्तामा राष्ट्रपति सहाबुद्दिनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको भन्ने कुरा आफूले सुनेको तर राजीनामा पत्र अहिलेसम्म नभेटिएको बताएका थिए।

हसिनाले बुझाएको राजीनामा पत्र धेरै खोजेँ। तर भेटिनँ, मलाई लाग्छ उहाँले राजीनामा दिनका लागि समय नै पाउनुभएन, ‍शहाबुद्दिनले अन्तर्वार्तामा भनेको विषयलाई उद्धृत गर्दै डेली स्टारले लेखेको छ।

युवाहरूले राष्ट्रपतिले निर्वासित प्रधानमन्त्रीको पक्ष लिएको आरोप लगाउँदै उनले राजीनामा दिनुपर्ने माग राखेर सोमबारदेखि प्रदर्शन गरिरहेका छन्।

सोमबार ढाकामा प्रदर्शन गरिरहेका युवाहरू साँझ राष्ट्रपति भवन (बंगभवन) अगाडि पुगेर प्रदर्शन गरेका थिए।

उनीहरू राष्ट्रपति भवनतर्फ अगाडि बढेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो। राति प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल समेत भएको थियो। त्यसक्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा केही मानिसहरू सामान्य घाइते समेत भएको बताइएको छ।

द डेली स्टारका अनुसार भिड आक्रोशित बन्दै गएपछि बंगभवनतर्फ जाने सडकहरूमा सुरक्षाकर्मीहरूले ब्यारिकेडहरू राखेका थिए। भवनमा चार तहको सुरक्षा व्यवस्था लागु गरिएको थियो।

बंगभवनको गेटमा एपिबिएन आर्म्ड पोलिस बटालियन, बिजिडी (बोर्डर गार्ड) बंगलादेश, पुलिस र सेना गरी चार तहको सुरक्षा व्यवस्था गरिएको छ।

पानीका फोहरा, दंगा नियन्त्रण वाहनहरू पनि तयारी अवस्थामा राखिएको छ।

सोमबार युवाहरूको प्रदर्शन उत्कर्षमा पुगेपछि यसअघिको विद्यार्थी आन्दोलनका प्रमुखमध्येका नेता सार्जिस आलम र हसनत अबदुल्लाह प्रदर्शनस्थलमा पुगेका थिए।

उनीहरूले प्रदर्शनरत युवाहरूलाई सम्बोधन गर्दै उनीहरूको मागबारे दुई दिनभित्र छलफल गरी निर्णय गर्ने प्रतिबद्धता गरेपछि प्रदर्शन केही मत्थर भएको थियो।

सोमबारको घटनापछि बंगभवन र ढाकाको सुरक्षा व्यवस्था अझै कडा पारिएको छ।

प्रतिक्रिया दिनुहोस्