रुपन्देहीमा छविलाल जोशीसँग लिन बयान सुरु भएसँगै सहकारी पीडितंद्वारा पनि प्रदर्शन

काठमाडौं, ६ कार्तिक । सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत भएको अपचलनमा जोशी पनि संलग्न रहेको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् ।

६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।

वचतकर्ताको निक्षेप फिर्ता र दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरिएको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बताए ।

वचत रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाही आफूहरूको प्रमुख माग रहेको उनले बताए ।

सहकारी रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया मार्फत भएको सहकारीको रकम अपचलनमा जीबी राई, रवि लामिछाने, कुमार रम्तेलसँगै जोशीलाई पनि कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो ।

उनी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् ।

सुप्रिम सहकारी अपचलनको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पूरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ ।

सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो । सुप्रिमका १ हजार ८३१ बचतकर्ताले सहकारीका पूर्वअध्यक्ष राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । ती उजुरीहरूको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोड मध्ये ८६ करोड १८ लाख बढी रकम राई र गुरुङको समूहले अपचलन गरेको छ ।

जीबी राईका विभिन्न पाँच वटा कम्पनीलाई मात्रै यो सहकारीले ऐन नियम विपरीत ७८ करोड ५० लाख ७६ हजार रुपैयाँ ऋण दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कको नाममा मात्रै सुप्रिमबाट १४ करोड ६ लाख रुपैयाँ सारिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सुप्रिमको ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले प्रतिवादी बनाएको छैन ।

प्रहरी अनुसन्धान प्रतिवेदन अनुरूप सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मार्फत २८ जना विरुद्ध मुद्दा दायर भएको छ । जसमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् ।

सचिव पुन सहितका ६ जना धरौटीमा छुटेका छन् । अन्य १९ जना अहिले पनि फरार छन् । अदालतले सहकारीका पूर्व अध्यक्ष तथा हालका संरक्षक गितेन्द्रबाबु राई ९जीबी० सहितका अन्य १९ जनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्