डेंगु संक्रमणको वृद्धिसँगै देशभर रगतको अभाव

काठमाडौं, २ कार्तिक । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।

बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए।

उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । उनले प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैँ,तिहार जस्ता चाडपर्वले मानिसहरु घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको बताए।

उनले रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको बताए । उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए ।

उनले एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको बताए। अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए। निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने बताए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

उनले भने, ‘अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, जुन अहिले डेंगुको संक्रमण जुन बढीरहेको त्यसले प्लेटलेटको माग बढेको छ । हामीसँग प्लेटलेट बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरु पर्याप्त मात्रामा छ । नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो माग भएको कारणले गर्दा पिआरपीको लागि हामी स्ट्रगल गरिरहेका छौँ । कसरी पुर्याउने र यसको व्यवस्थापनको लागि प्रत्येक दिन ब्लड कलेक्शन हुनुपर्छ । पिआरपी बनाउनको लागि हामीलाई फ्रेस ब्लड चाहिन्छ । रगत कलेक्शन भएको ६ देखि ८ घण्टाभित्र हामलिे पिआरपी छुट्याउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दशैँदेखि तिहारसम्म हाम्रो डोनेशन संख्या घट्छ वर्षौंदेखि । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’

उनले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए । उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत संकलन गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्