एनआरएनएले मनायो स्थापना दिवस, संघलाई एकताबद्ध  राख्न जोड

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को २१ औं स्थापना दिवस भर्चुएल माध्यमबाट मनाइएको छ।

‘एनआरएन डे’ को अवसरमा राजेन्द्र कुमार (आरके) शर्मा समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपाल निर्माणमा गैर आवासीय नेपालीहरुको ठूलो योगदान रहेको भन्दै आफुले त्यस्तो योगदानको सम्मान गर्ने बताए।  उनले एनआरएनएको महत्त्व अहिले निकै बढेको बताउँदै अहिले संघभित्र देखिएको विवादलाई समाधान गरेर अघि बढ्न पनि आग्रह गरे । एनआरएनएलाई  नेपालीको पीडामा मल्हम लगाउने संस्थाको रुपमा आफूले चिनेको बताउँदै मन्त्री पौडेलले एनआरएनए अभियान एकताबद्ध हुन सक्यो भने अझ बढी सशक्त हुने अपेक्षा व्यक्त गरे।

संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संघमा एकताको विकल्प नरहेको भन्दै आफु शुक्रबार बिहानै श्री पशुपतिनाथ तथा स्वयम्भुनाथ पुगेर संघमा एकताका लागि प्रार्थना गरेको जनाए।   संघका पूर्व अध्यक्ष  कुल आचार्यले संघमा एकताको विकल्प नरहेको भन्दै तीन जना अध्यक्ष बनाएर पनि  संघलाई  एकताबद्ध बनाएको तर तीनै जना अध्यक्ष फेरी चुनावमा नउठ्ने भन्ने सहमति पालना नगरिएको बताए।  उनले मिलेर काम गर्दा गैर आवासीय नेपाली नागरिकता, सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएको भन्दै गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका समस्या तत्काल सम्बोधन गर्न  नेपाल सरकारलाई आग्रह पनि गरे।

समूहका अध्यक्ष आरके शर्माले अहिले पनि संस्था कसले कब्जा गर्ने मानसिकताबाट माथि उठ्न नसकेको बताए । विगतमा आफूहरुले निस्वार्थ भावनाले संस्था स्थापना गरेको भएता पनि केही गलत व्यक्तिको कारणले गर्दा अहिलेको अवस्था आएको बताए । अहिले संस्थाको चिरहरण हुँदा आफुहरु चुप लागेर बस्न नसक्ने बताउँदै उनले आफूहरु अदालतमा जाने मनस्थितिमा नरहेको अवस्थामा पनि अर्को समूह अदालतमा गएकाले आफुहरुपनि अदालत जान बाध्य भएको बताए । अहिले व्यक्ति भन्दा पनि सामूहिक भावनाका आधारमा संस्थालाई एकताबद्ध बनाउनका लागि आफूहरु अघि बढ्ने उनले बताए ।

संघकी पूर्व अध्यक्ष रबिना थापाले पनि संघ एकजुट हुन नसकेमा संस्थाको औचित्य नरहने बताइन्।  उनले संस्था कब्जा गर्ने हैन सबैलाई समेटेर लग्नु पर्नेना जोड दिइन्।  यसैगरी संघका संस्थापक महासचिव भीम उदासले  संस्थालाई एक ठाउँमा ल्याउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए । ११ औं महाधिवेशनमा  अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले संघभित्रको विवाद सुल्झाउन परराष्ट्र मन्त्रालयले निकास दिनुपर्ने बताउँदै त्यसका लागि पूर्व अध्यक्षहरुले प्रयास गर्नु पर्नेमा जोड दिए ।  उनले सबैले आफ्नो अहमता त्यागेर संवादलाई अघि बढाउनु पर्ने बताउंदै  सबै पक्ष सहभागी गोलमेच सम्मेलन गरेर समस्याको समाधान निकाल्न सुझाव दिए ।

संघका उपाध्यक्ष डा केशव पौडेलले संघ भित्र एकताको विकल्प नरहेको भन्दै सर्वोच्च अदालतका फरक फरक फैसलाले अन्यौलको वातावरण बनाएको जनाए।  उनले अदालतले थप् व्याख्या गर्ने आफुहरुले अपेक्षा गरेको जनाउँदै संघलाई एकताबद्ध बनाउन थप प्रयास आवश्यक  रहेको र  यसका लागि योगदान दिन  आफु सधै तत्पर सधै तयार रहेको जनाए।

अर्का उपाध्यक्ष गंगाधर गौतमले अहिले बद्री केसीले नेतृत्व गरेको  समूहले संस्थाको श्रोत व्यापक दुरूपयोग गरिरहेको बताउँदै त्यसका विरुद्ध सबै एक जुट भएर प्रतिवाद गर्नु पर्नेमा जोड दिए । संघका

कोषाध्यक्ष ठाकुर ढुंगाना, सल्लाहकार नारायण आचार्य, पूर्व उपाध्यक्ष डीबी क्षेत्री, एनआरएनए आइसीसीका सल्लाहकार आनन्द बिष्ट, एनआरएनए एनसीसी बेल्जियमकी अध्यक्ष सीता सापकोटा नेपाली जनसम्पर्क समिति बहराइनका अध्यक्ष पदम सुन्दर गुरुङ,  लगायतले संघमा शुद्धिकरण गर्दै लैजानु पर्ने खाँचो औंल्याए।

संघका सल्लाहकार नारायण कँडेलले अहिलेको जस्तो निर्वाचन प्रक्रियाले एनआरएनए झनै कमजोर हुने बताउँदै निर्वाचन प्रक्रिया विश्वसनीय बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनका अध्यक्ष  डा. यादव पण्डितले एनआरएन अभियानलाई सानो स्वार्थ समूहको घेराबाट बाहिर निकाल्नु पर्नेमा जोड दिए । उनले एनआरएनएलाई  सबैको अपनत्व हुने संस्थाको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।

पूर्व गृह मंत्री तथा माओवादी नेता शक्ति बहादुर बस्नेत, पूर्व मंत्री तथा कांग्रेस नेता डा मिनेन्द्र रिजाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेल  लगायतका वक्ताले नेपालको अर्थतन्त्र धान्न प्रवासी नेपालीहरुको योगदानको चर्चा गर्दै संघलाई एकजुट बनाएर लैजान सुझाव दिएका थिए।

कार्यक्रमको संचालन गरिरहेका संघका महासचिव बुद्धिसागर सुवेदीले २१ औं एनआरएन डे जसरी छुट्टा छुट्टै समूहमा मनाउँन परेको बताउँदै अर्को बर्ष सबै एक ठाउँमा बसेर मनाउने वातावरण बनाउनका लागि आफुहरुले पहल गरिरहेको जनाए।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्थापना सन् २००३ मा भएको हो । यस संघको मुख्य उद्देश्य विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई एक साझा मञ्च प्रदान गर्नु, उनीहरूको हकहितको संरक्षण गर्नु, र नेपालको विकासमा योगदान पु-याउन सहयोग पु-याउनु हो ।

संघले संसारभर छरिएका नेपालीहरूलाई एकजुट गर्न, उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक र व्यावसायिक अधिकारको संरक्षण गर्न, तथा नेपाल र नेपाली समुदायको हितमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

एनआरएनएले नेपाल र अन्य मुलुकबीच द्विपक्षीय सम्बन्ध सुधार्ने, लगानीको अवसर सृजना गर्ने, र नेपालमा प्रविधि, शिक्षा, स्वास्थ्य तथा विकासका क्षेत्रमा योगदान दिन महत्वपूर्ण भूमिका खेलेको छ । अहिले विश्वका ८० भन्दा बढी  देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्