ज्येष्ठ नागरिकलाई सम्मान

काठमाडौँ, २३ असोज। आसन्न विभिन्न पर्वहरूका अवसरमा मुलुकको सामाजिक विकासमा योगदान पुर्याएका ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ।
काठमाडौँ महानगरपालिका १५ स्थित आनन्दनगर टोल सुधार समितिद्वारा आयोजित कार्यक्रममा पाँच जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको हो।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रत्येक स्थानीय तहले ज्येष्ठ नागरिक मैत्री अस्पताल, पार्क लगायतको संरचना विकास गर्नुपर्नेमा जोड दिँदै
सामाजिक विकासमा उनीहरुको अनुभवलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। वडाको विकास, खुल्ला क्षेत्रको विकास, संस्कृतिको, मुर्त, अमुर्त सम्पदाको संरक्षण, पार्टी पौवा, स्थानीयले उपभोग गर्न पाउनुपर्ने उहाँको भनाई थियो।
प्रतिनिधिसभामा सदस्य सपना जोशीले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परिपाटीको सराहना गर्दै
उनीहरूलाई माया र स्नेहको खाँचो औँल्याउनुभयो।
प्रदेशसभा सदस्य उद्वव थापाले सामाजिक विकासको प्रकृयाका रुपमा ज्येष्ठ नागरिकलाई लिनुपर्ने भन्दै आसन्न राष्ट्रिय पर्वका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो। टोलको विकास निर्माणमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
काठमाडौँ महानगरपालिका -१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले वडाभित्र अहिले सुविधा सम्पन्न २० वटा पार्क निर्माण गरिएको त्यसमा केही ज्येष्ठ नागरिकमैत्री रहेको उल्लेख गर्नुभयो। उहाँले विश्व सम्पदा सूचीमा रहेको सम्पदा मार्गलाई थप सुदृढ गर्ने योजना रहेको जानकारी दिनुभयो ।
समितिका काबा अध्यक्ष सोनाम लामा शाक्यले मुलुकमा विभिन्न जातजाति र धर्मावलम्बीहरूका फरक पहिचानले बहुधर्म, बहुभाषा, बहुसंस्कृति कायम रहेको बताउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएको विचार व्यक्त गर्नुभयो। उहाँले स्थानीय विकास तथा समाजिक कार्यक्रममा सबै टोलवासी एक हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा राष्ट्रिय पर्व दसैँ, तिहार, नेपाल संवत्, छठलगायतका पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरिएको थियो।
कृष्णराज
प्रतिक्रिया दिनुहोस्