कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक मार्ग खुले

काठमाडौं,२२ असोज । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ पुनः सञ्चालनमा ल्याइएको छ । अब हेटौंडा र काठमाडौंलाई जोड्ने करिब ५ बटै मार्ग सञ्चालनमा आएका छन् ।

गत असोज १२ गतेको बाढीले बागमती नदि माथी बनेका पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ भने अवरुद्ध थियो ।

नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाइएको छन् ।

मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको छ तर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको स्थानीयले बताएका छन् ।

बागमती पुल बगाउँदा विगत १० दिनदेखि मकवानपुर–ललितपुरको यातायात सम्पर्क टुटेको थियो । हेटौंडा र काठमाडौंलाई जोड्ने कान्तिलोकपथ महत्वपूर्ण मार्ग हो ।

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा वैकल्पिक मार्ग आइतबार साँझबाटै सञ्चालनमा आई सकेका छन् ।

कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक खुलिसकेको थियो । हेटौंडा जाने धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने सञ्चालनमा छदैंछ ।

प्रतिक्रिया दिनुहोस्