देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको समग्र बिकासका निम्ती जनप्रतिनिधीहरुले राजनीतिक भेदभावरहित राष्ट्र सेवाभाव राखेर काम गर्नुपर्ने तर्क गरेका छन् ।
सक्सेस मिडिया र यात्रा प्लसको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा भएको ‘एचिभर्स अवार्ड ‘२०२४’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रा कतिपय जनप्रतिनिधी विशेषगरी मन्त्री ज्यूहरुको कार्यशैली देखेर मलाई अनौठो लाग्छ । चुनावमा पनि जनताका लागि काम गर्छु भन्ने, मन्त्री बन्ने बेलामा पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निस्वार्थ काम गर्छु भन्ने अनि पदमा पुगेपछि राजनीतिक रंग हेरेर काम गर्ने गर्नुहुन्छ’, राज्मन्त्री चौधरीले भने, ‘म त के भन्छु भने मन्त्रीको पदमा पुगेको मान्छे साझा हुनुपर्छ । त्यहाँ पुगेपछि पनि कुन पार्टीबाट आएको रु भनेर राजनीतिक नजरबाट मात्रै हेर्ने र एकअर्कासँग आवश्यक समन्वय नगर्ने हो भने मुलुकको बिकास र रुपान्तरणले फड्को मार्न सक्दैन् । त्यस्ता व्यक्ति साँच्चै भन्नुपर्दा देश बिकासको बाधक हुन् ।’
यस्तै उनले, नेपालको पर्यटन प्रबद्र्धन तथा विकासका लागि हरेक क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
‘नेपालको जस्तो अनौठो र विविधताले भरिएको प्राकृतिक, सांस्कृतिक, धार्मिक सँगसँगै विविध विविधता र गतिविधिहरूको धनी विश्वका कुनै देशमा छैनन् । त्यसैले मलाई लाग्छ विश्वका कुनै पनि देशले नेपालको पर्यटनसँग प्रतिस्पर्धा गर्न सक्दैन्’ राज्यमन्त्री चौधरीले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई ब्रान्डिङ गर्न सके नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने र देशको आर्थिक सम्बृद्धि हुनेछ । त्यसका लागि हरेक क्षेत्रका व्यक्तित्वहरुको योगदान महत्वपूर्ण रहन्छ । त्यसैले सरकारको तर्फबाट मैले सधैँ सकारात्मक सहकार्य गर्नेछु ।’
कार्यक्रममा कलाकारिता, बैंकिङ, चिकित्सा, मिडिया, व्यवसायी तथा खेल क्षेत्रका व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो । राज्यमन्त्री चौधरीले अवार्ड पाउनेहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्