मुस्लिम आयोगद्वारा दशैं, नेपाल संवत, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान-प्रदान

काठमाडौँ, २१ असोज।मुस्लिम आयोगले दशैं, नेपाल संवत, तिहार र छठ पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ।

आयोगको परिसरमा आयोजित उक्त समारोहमा विभिन्न धर्मका गुरुहरु, संवैधानिक आयोगको पदाधिकारी, नागरिक समाजका अगुवा, सुरक्षाकर्मीलगायतको उपस्थिति थियो।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मुलुकमा सबै धर्मावलम्बीका आफ्ना मौलिक परम्परा, संस्कृति रहेकाले तीनको संरक्षणले उनीहरूबीच पारस्परिक एकता, एकापसमा सहयोग, धार्मिक सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै आयोगले राष्ट्रिय पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमले राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभयो।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सबै समुदायका चाँड पर्वलाई सबैले सम्मान गर्ने परिपाटीले विविधतामा एकताको सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो।

मुश्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले आसन्न राष्ट्रिय पर्वका अवसरमा सबै नेपालीलाई शुभकामना दिँदै आफूहरु फरक समुदायको भएतापनि विभिन्न धर्ममा आस्था रहेका सबै नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा विभिन्न जातजाति र धर्मावलम्बीहरूका फरक पहिचानले बहुधर्म, बहुभाषा, बहुसंस्कृति कायम रहेको बताउँदै यसले नेपाललाई अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएको विचार व्यक्त गर्नुभयो। सिङ्गो नेपालीको शान्ति सुरक्षाको लागि समाजको उत्थान र विकासको लागि आयोगहरु बनेको उहाँको भनाई थियो।

आयोगले विगत तिन वर्षदेखि यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्