मोदीको दुई दिने राजकीय भ्रमण आजबाट, यस्तो छ भ्रमण तालिका !

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणमा आज नेपाल आउँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । उनको यो तेस्रो भ्रमण हो ।

मोदीले जनकपुरबाट भ्रमणको सुरुवात गर्ने भएका छन् । भारतीय वायु सेवाको विमानबाट भारतको पटना हुँदै विहान सवा १० मा जनकपुरमा ओर्लंदा उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् ।

मोदीले जनकपुरमा दुई घन्टा बिताउने कार्यक्रम छ । मोदीलाई जानकी मन्दिरमा नेपाली समकक्षी केपी ओलीले स्वागत गर्नेछन् । मन्दिरमा दुबै प्रधानमन्त्रीले पूजा अर्चना गरेपछि रामायण सर्किटअन्तर्गत जनकपुर अयोध्या बस सेवाको दुई प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि बाह्रविघा मैदानमा नागरिक अभिनन्दनको गरिने छ । नागरिक अभिनन्दन लिएपछि भने राजनीतिक भेटघाटका लागि मोदी काठमाडौं आउनेछन् ।

हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएपछि उनी बौद्धस्थित हायात होटल जाने र त्यसपछि गार्ड अफ अनरका लागि टुंडिखेल पुग्ने कार्यक्रम छ ।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट गर्नेछन् ।

यस्तै प्रधानमन्त्री मोदीले होटल द्वारिकाजमा विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नेछन् ।

आजै उनी र नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीले अरुण तेस्रो विद्युत परियोजनाको शिलान्यास गर्नेछन् । मोदी र प्रधानमन्त्री ओलीसहितको टोलीबीच भेटवार्ता पनि आजै साँझ हुनेछ ।

भोलि भने उनी विहानै मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने कार्यक्रम छ । मुक्तिनाथबाट काठमाडौं फर्केपछि राष्ट्रिय सभागृहमा गरिने नागरिक अभिनन्दनमा उनी सामेल हुनेछन् ।

यस भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । भ्रमणबाट पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्ने विश्वास गरिएको छ ।

जनकपुरधाम र मुक्तिनाथजस्ता प्रसिद्ध धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा मोदीको भ्रमण हुँदा प्रकृतिप्रेमी पर्यटक र तीर्थाटनलाई विश्वमाझ थप परिचित गर्न सहयोग पुग्ने विश्वास पनि छ ।

प्रतिक्रिया दिनुहोस्